मापदण्ड बिपरित गरेका कर्मचारी सरुवा सच्याउन मन्त्री अधिकारीको निर्देशन

गत असोज १५ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग( साविक मालपोत विभाग) ले गरेको तीन सय ८४ कर्मचारीको सरुवामा देखिएको त्रुटी सच्चाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण्मन्त्री बलराम अधिकारीले बिभागलाई निर्देशन दिनु भएको छ । मन्त्री अधिकारीले मन्त्रालयका सचिव, सहसचिवहरु, बिभागका महानिर्देशकलगायतलाई गलत गर्ने कर्मचारीको बचावटमा नलाग्न र सरुवाको मापदण्ड बिपरित भएका कार्य सच्चाउन निर्देशन दिनु भएको हो । विभागले गरेको सरुवाका विषयमा छानबिन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको निर्देशनमा मन्त्रालयका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियोे । उक्त समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य रहेका थिए । छानविन समितिले आधाभन्दा बढी सरुवा नियमअनुसार नमिलेको निष्कर्ष निकालेपछि मन्त्री अधिकारीले कार्यान्वयनका लागि निर्देशन दिनु भएको हो । मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव भेषराज पाण्डेका अनुसार आइतबार मन्त्री अधिकारीको निर्देशनमा उक्त प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्थापन विभागलाई पठाउने निर्णय गरिएको छ । प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रालयले बिभागका महानिर्देशक शिब प्रसाद रेग्मी लाइ लिखित निर्देशन समेत दिइसकेको छ ।
मालपोतका कर्मचारीहरूको सरुवालाई वैज्ञानिक, पारदर्शी, नियमसंगत बनाउन मन्त्रालयलाई नौवटा बुँदामा सुझाव दिइएको छ । विभागले यसअघि गरेको सरुवा नियम र न्यायसंगत नभएको, सरुवामा आर्थिक चलखेल भएको, असक्त, अपांग, बालबच्चा भएका महिलाको पीडालाई समेत ख्याल नगरिएको बताइएको छ । उक्त प्रतिवेदन कार्यान्वयन हुदाँ उपत्यकाका कार्यालयबाट उपत्यकाकै कार्यालयमा सरुवा गरिएका कर्मचारीहरूको सरुवा संसोधन हुने छ । २८ जना यस्ता कर्मचारी खरिदारदेखि अधिकृतसम्मका छन् । यसैगरी दुई वर्ष अवधि नपुग्दै गरिएको सरुवा पनि संसोधन हुने छ । मन्त्री अधिकारीले तत्कालीन महानिर्देशक कृष्ण सापकोटा सरुवा बिवादमा आएपछि उनलाई अन्यन्त्र सरुवा गराई सो ठाउँमा मन्त्रालयका सहसचिव शिव रेग्मीलाई नयाँ महानिर्देशकमा पठाइएको छ ।

 

 

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation