
काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य ‘करेक्सन’ देखिएको छ । यस साता सुरुवाती कारोबार दिनदेखि निरन्तर बढेको नेप्से सूचक बुधबार ९.४३ अंकले घटेर २७०५.३८ मा पुगेको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन पक्कापक्की भएको र देश निर्वाचनमय बनेकोले सेयर बजारमा निरन्तर सुधार देखिन थालेको थियो । लगानीकर्ताहरू आगामी निर्वाचनपछि राजनीतिक स्थिरता हुने, सेयर बजारमैत्री सरकार बन्ने र समग्र बजारको विकास हुने अपेक्षामा छन् ।
सेयर लगानीकर्ता ओमप्रकाश शर्माका अनुसार, ‘निर्वाचन पक्का भए पनि बजारमा सुधार दिगो हुने संकेत देखिन्छ । बुधबार आएको करेक्सनले पनि यही कुरा पुष्टि गरेको छ । यदि नेप्से लगातार एकोहोरो बढ्थ्यो भने जोखिम हुन्थ्यो, तर करेक्सन हुँदै बढ्नु बजारको दीगो वृद्धिको संकेत हो ।’
बुधबार नेप्सेमा कारोबार भएका १७४ कम्पनीको सेयर मूल्य घट्दा सूचक नकारात्मक बनेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३५ अंकले घटेको छ । तर, ८२ कम्पनीको सेयर मूल्य बढेको र २ कम्पनीको मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ । विशेषत: कालिका पावर र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतसम्म बढेको छ ।
समूहगत परिसूचकमा अधिकांश समूह घटेका छन् । बैंकिङ २.२५, विकास बैंक ३४.६२, वित्त ४३.२८, होटल १४०.३३, जलविद्युत् १.१५, लगानी ०.६८, जीवन बीमा ४७.८८, उत्पादनमूलक ४२.९७, लघुवित्त १२.७७, सामूहिक लगानी कोष ०.१३, निर्जीवन बीमा ३३.६८ र व्यापार ५२.४० अंक घटेका छन् ।
अन्य समूह भने ६.३४ अंकले बढेको छ ।
बुधबार नेप्सेमा ३२४ कम्पनीको ८९,७६६ कारोबारमा ८ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड १६ लाख ४१ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ, जुन मंगलबारको तुलना (पौने १२ अर्ब रुपैयाँ) कम हो ।












