
१२ पुस, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौँका विभिन्न स्थानमा केही समयका लागि विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै पानीपोखरी फिडर र हस्पिटल फिडरअन्तर्गतका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् कटौती हुने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि विद्युत् कटौती हुने महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणालीलाई भूमिगत बनाउने कार्य भइरहेको र भूमिगत कार्य सम्पन्न भइसकेपछि केबल जडानका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा विद्युत् आपूर्ति समयमै पुनः सुचारु गरिने सूचनामा उल्लेख छ ।










