सरकारी जागिरको तयारी अब स्थानीय तहबाटै: गाउँपालिकाले थाल्यो लोक सेवा र शिक्षक सेवा कक्षा

काठमाडौँ ।

भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका ले युवाहरूलाई सरकारी सेवामा आकर्षित गर्ने उद्देश्यले निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सुरु गरेको छ ।

४५ दिने विशेष प्रशिक्षण कार्यक्रममार्फत स्थानीय युवालाई निजामती तथा शैक्षिक क्षेत्रमा प्रवेश गराउने लक्ष्य राखिएको छ ।

गाउँपालिकाका अध्यक्ष थामबहादुर राई का अनुसार स्थानीय तहबाटै सक्षम र राष्ट्रप्रति उत्तरदायी जनशक्ति उत्पादन गर्ने नीति अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो । बढ्दो बेरोजगारी न्यूनीकरण गर्दै युवालाई आत्मनिर्भर बनाउने विश्वास गाउँपालिकाले लिएको छ ।

अध्ययनरत तथा आवश्यक योग्यता पुगेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको कक्षा हाल भोजपुर बहुमुखी क्याम्पस को प्राङ्गणमा भइरहेको छ । गाउँपालिकाबाट सदरमुकाममा अध्ययनरत ५० जना विद्यार्थी कार्यक्रममा सहभागी छन् ।

तयारी कक्षामा नियमित प्रशिक्षण, नमुना प्रश्नोत्तर अभ्यास तथा समूहगत छलफललाई प्राथमिकता दिइएको छ ।

स्थानीय सरकारले घरदैलोमै प्रतिस्पर्धात्मक परीक्षाको वातावरण तयार गरिदिएपछि विद्यार्थी तथा अभिभावक उत्साहित बनेका छन् । कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरी आगामी वर्षहरूमा समेत निरन्तरता दिने योजना गाउँपालिकाले बनाएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation