
काठमाडौँ ।
इटलीका ओपनर दाजुभाइ मोस्काले अविजित साझेदारी गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो हार व्यहोरेको छ ।
बिहीबार समूह चरणको दोस्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेपछि इटलीले विश्वकपमा कीर्तिमानी जित हात पारेको हो ।
लगातार दोस्रो हारसँगै नेपालको सुपर ८ पुग्ने सम्भावना लगभग सकिएको छ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो ।
विश्वकपमा डेब्यु गरेको इटलीले भने पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको इटलीले दोस्रो खेलमा पहिलो जित हात पारेको हो । नेपालमाथिको जितसँगै इटलीको सुपर ८ पुग्ने सम्भावना कायम रहेको छ ।
बिहीबारको खेलमा नेपाली टोलीले ब्याटिङ र बलिङ दुबैमा सम्झनलायक प्रदर्शन गर्न सकेन । समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले इटलीविरुद्धको पहिलो इनिङ्समा निराशाजनक प्रदर्शन देखायो । लामो समय क्रिजमा टिक्ने धुनमा रहेका नेपाली ब्याटरहरु लामो समय टिक्न सकेनन् ।
इटलीविरुद्ध ५ बलर प्रयोग गरेको नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन् । बलिङतर्फ ललित राजवंशीले १ ओभरमा १९ रन खर्च गरे । दीपेन्द्र सिंह ऐरीले ३.४ ओभरमा २४ रन दिए । करण केसीले २ ओभरमा २१ रन खर्चे । सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन दिए । नन्दन यादवले १ ओभरमा १२ र कुशल भुर्तेलले २ ओभरमा १५ रन खर्चे ।
नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य इटलीले ४४ बल अगावै बिना विकेट पूरा गर्यो । पहिलो विकेटका लागि इटलीका जस्टीन मोस्का र एन्थोनी मोस्काले १ सय २४ रनको अविजित साझेदारी गरे । जस्टीन ६० बलमा ५ चौका र ३ छक्का सहित ६० रनमा नटआउट रहे । एन्थोनी ३२ बलमा ३ चौका र ६ छक्का सहित ६२ रनमा नटआउट रहे ।
पहिलो इनिङ्समा टस जितेर फिल्डिङ रोजेको नेपाली टोली ३ बल अगावै १ सय २३ रनमा अलआउट भयो ।
नेपालका लागि सर्वाधिक रन आरिफ शेखले बनाए, जसले २४ बलमा ३ चौका सहयोगमा २७ रन बनाए । करण केसी १८ रनमा अविजित रहे । दीपेन्द्र सिंह ऐरी १८ बलमा १७ रनमा बोल्ड आउट भए । आशिफ शेख २० बलमा २० रनमा आउट भए । कप्तान रोहित पौडेल १४ बलमा २ छक्का सहित २३ रनमा आउट भए ।
कुशल भुर्तेल १० बलमा ५ रनमा आउट भए भने सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए । लोकेश बम र गुल्सन झा समान ३ रनमा आउट भए । नन्दन यादव र ललित राजवंशी शून्यमा रनआउट भए ।
लगातार दोस्रो हारसँगै नेपाली टोली अंकविहीन भएर समूह सीको पुछारमा झरेको छ । दुई खेलमा एक जित र एक हार भोगेको इटली २ अंकमा चौथो स्थानमा उक्लेको छ ।
लगातार दुई जित निकालेको वेस्ट इन्डिज ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ । समान २ अंक भएको स्कटल्यान्ड नेट रनरेटमा अघि रहँदै दोस्रो स्थानमा छ भने इंग्ल्यान्ड चौथो स्थानमा झरेको छ ।
नेपालले समूह चरणको तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
समूह चरणको अन्तिम खेल मंगलबार स्कटल्यान्डसँग हुनेछ ।












