राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो

काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकले आज पनि एक वर्षका लागि १० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता प्रवाह भइरहेको कारण केन्द्रीय बैंकले लगातार ऋणपत्र निष्कासन गर्दै आएको हो ।

राष्ट्र बैंकले पछिल्ला १० दिनमा ६ वटा ऋणपत्र जारी गरी बैंकिङ प्रणालीबाट कुल १ खर्ब ३० अर्ब रुपैयाँ तानेको छ । यसअघि राष्ट्र बैंकले पुस १४, पुस १६, पुस २० र पुस २२ गते २५ अर्ब रुपैयाँ दरका तथा पुस २३ गते २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूमा साढे दुई वर्षअघिदेखि ऋण दिन मिल्ने रकम, अर्थात् अधिक तरलता, लगातार बढिरहेको छ । हाल बैंक तथा वित्तीय संस्थामा त्यस्तो रकम ११ खर्ब २२ अर्ब रुपैयाँ नाघिसकेको छ ।

चालू आर्थिक वर्षको शुरुआती पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेर ७५ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । सामान्य अवस्थामा ब्याजदर उच्च हुँदा निक्षेप सङ्कलन बढी र कर्जा प्रवाह कम हुने गर्छ । तर अहिले ब्याजदर लगातार घटेर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढ्न सकेको छैन ।

व्यवसायीहरूको अनुसार निजी क्षेत्रले लगानीका लागि विश्वसनीय वातावरण उपलब्ध भएको महसुस गर्न नसक्दा बैंकमा पैसा थुप्रिएर अर्थतन्त्र शिथिल भइरहेको छ । हाल लगानी, उत्पादन, पूँजी निर्माण, रोजगारी र वस्तु तथा सेवाको माग सबै पक्ष शिथिल बन्दै गएको व्यवसायीहरूले बताएका छन् ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation