
काठमाडौँ ।
गृह मन्त्रालयले ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णयअनुसार दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि हेरफेर भएका छन् । साथै पाँच जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) को पनि सरुवा गरिएको छ ।
उपसचिवमा बढुवा भएकी जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ । उनलाई गृह मन्त्रालयबाट डोल्पाको सीडीओमा खटाइएको हो ।
यसअघि डोल्पाको प्रमुख जिल्ला अधिकारी रहेका भीमराज कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मुकेशकुमार केशरीले पाएका छन् । उनी यसअघि पञ्जिकरण विभागका निर्देशक थिए । बझाङका सीडीओ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
यस्तै उपसचिवहरू नवराज बराललाई बाग्लुङ, भविश्वर घिमिरेलाई कपिलवस्तु तथा कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।










