मनाङमा हिउँ चितुवा सर्वेक्षण सुरु

मनाङ ।

 हमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिने लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले मनाङमा हिउँ चितुवा सर्वेक्षण सञ्चालन भइरहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा ट्रयापिङमार्फत हिउँ चितुवाको अवस्था, सङ्ख्या तथा अन्य वन्यजन्तुको अनुगमन गरिरहेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा सङ्कटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न यो सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने नारफु, ङिस्याङ, खाङ्सार, तिलिचो, गुम्साङ र भिमथाङ आसपासका उच्च हिमाली भू–भागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको सम्भावित प्रमुख बासस्थानमध्ये एक रहेको पुष्टि गरेको छ ।

मनाङको ङिस्याङ, नारफु र तिलिचो आसपासका क्षेत्र हिउँ चितुवाको सम्भावित बासस्थानका रूपमा पहिचान गरिएको उहाँले बताउनुभयो । क्यामेरा ट्रयाप, पदचिह्न, मल (स्क्याट) सङ्कलन तथा स्थानीय गोठालाहरूको अनुभवका आधारमा उपयुक्त स्थान पहिचान गरी क्यामेरा जडान गरिएको छ ।

सर्वेक्षणमा संलग्न वन्यजन्तु तथा वातावरण विज्ञका अनुसार हिउँ चितुवाको संरक्षण केवल एउटै वन्यजन्तु जोगाउने विषय मात्र नभई सम्पूर्ण हिमाली पारिस्थितिकीय प्रणाली, स्थानीय जीविकोपार्जन तथा भविष्यको पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।

समुद्री सतहबाट करिब ३ हजार २ सय मिटरदेखि ५ हजार २ सय मिटरभन्दा माथिसम्मको उचाइमा फैलिएका मनाङ ङिस्याङ उपत्यका, भिमथाङ उपत्यका र नारफु उपत्यकालाई तीन क्षेत्रमा विभाजन गरी अध्ययन भइरहेको भुजेलले जानकारी दिनुभयो ।

मनाङ ङिस्याङ उपत्यकामा ५७, भिमथाङ उपत्यकामा २९ र नारफु उपत्यकामा ४३ वटा क्यामेरा जडान गरिएको छ । हिउँ चितुवाको सङ्ख्या अनुमान तथा पारिस्थितिकीय प्रणालीको विश्लेषणलाई सहयोग पुर्‍याउन प्रत्येक ग्रिड सेलभित्र सिकार प्रजातिको तथ्याङ्क पनि सङ्कलन भइरहेको छ । क्यामेरा, ब्याट्री, मेमोरी कार्ड, पञ्जा, सिलिका जेल, स्क्याट सङ्कलन ट्युब र तथ्याङ्क रेकर्डिङ फारमलगायतका उपकरण प्रयोग गरिएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation