८ सीडीओको एकैपटक मन्त्रालय बाहिर सरुवा

काठमाडौँ ।

मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

तीमध्ये गृह मन्त्रालय अन्तर्गतका १३ जना सहसचिव अन्य मन्त्रालयमा सरुवा भएका छन् । सरुवा हुनेमध्ये ८ जना विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत रहेका छन् ।

गृह मन्त्रालयबाट अन्य मन्त्रालयमा सरुवा हुने सहसचिवहरूमा गोपालप्रसाद अर्याल, डा. टोकराज पाण्डेय, कल्पना श्रेष्ठ, सुनिता नेपाल, खिमबहादुर रायमाझी, नेत्रप्रसाद सुवेदी, कृष्णप्रसाद लम्साल, नारायणप्रसाद रिसाल, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बास्तोला, गोविन्दप्रसाद रिजाल, शंकरहरि आचार्य र धर्मेन्द्रकुमार मिश्र रहेका छन् ।

उनीहरूमध्ये डा. पाण्डेय लमजुङ, श्रेष्ठ खोटाङ, नेपाल इलाम, सुवेदी सल्यान, रिसाल दोलखा, बास्तोला सिन्धुपाल्चोक, लम्साल नवलपरासी पश्चिम र मिश्र बारामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको छ । निर्वाचनका लागि जिल्लामा शान्ति सुरक्षा कायम गर्ने र निर्वाचनको वातावरण निर्माण गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने गर्छ । तर मन्त्रिपरिषद्ले एकैपटक ८ प्रमुख जिल्ला अधिकारीको सरुवा गरे पनि चार दिन बितिसक्दा समेत ती जिल्लामा नयाँ सहसचिवलाई जिम्मेवारीसहित पठाइएको छैन ।

सरुवा भएका स्थानमा नयाँ प्रमुख जिल्ला अधिकारी कहिले पठाइन्छ भन्ने प्रश्नमा गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीले प्रतिक्रिया दिन चाहेनन् । उनले भने, ‘पछि कुरा गरौँला ।’

यसै सरुवामा गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्मा र विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्दप्रसाद रिजालको पनि सरुवा गरिएको छ । अतिरिक्त समूह (जगेडा) मा रहेका सहसचिव शंकरहरि आचार्य, गोपालप्रसाद अर्याल र खिमबहादुर रायमाझीको समेत सरुवा भएको छ ।

यस सरुवासँगै गृह मन्त्रालयबाट १३ जना सहसचिव बाहिरिँदा ७ जना सहसचिव गृह मन्त्रालयमा भित्रिएका छन् । बिहीबारकै सरुवामा अन्य मन्त्रालय तथा निकायबाट उमेश ढुंगाना, शान्तिराज प्रसाईं, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, रेखा कँडेल, निश्चलराज पाण्डे र राजन पौडेल गृह मन्त्रालयमा सरुवा भएका छन् ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation