विभिन्न कार्यक्रमका साथ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ ।

‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

१९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु रहेको छ । १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा हरेक वर्ष यही दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आएको छ ।

संघ, प्रदेश र स्थानीय तहका सरकारले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आज काठमाडौँमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थितिमा भूकम्प सुरक्षा सम्बन्धी विशेष कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरूको सहभागिता रहनेछ ।

दिवसका अवसरमा देशभर गोष्ठी, छलफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक तथा अडियो–भिडियो कार्यक्रमलगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । विज्ञहरूले भूकम्पपछिको सम्भावित अवस्थाको पूर्वआँकलन गर्दै प्रभावकारी तथा द्रुत खोज तथा उद्धार, तालिमप्राप्त उद्धारकर्मीको व्यवस्थापन र तत्काल राहत सामग्रीको तयारी आवश्यक रहेको बताउँदै आएका छन् ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation