सभामुख यादव भन्छन्: गुणस्तरीय शिक्षा समाज रूपान्तरणको मूल आधार

धनुषा ।

मधेस प्रदेश सभाका सभामुख रामआशिष यादवले शिक्षालाई समाज रूपान्तरणको प्रमुख आधारका रूपमा चित्रण गरेका छन् ।

जनकपुरधामस्थित मोनास्टिक विद्यालय तथा कलेजको ४०औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाले समाजमा परिवर्तन ल्याउने बताए ।

सभामुख यादवले मोनास्टिक विद्यालयले विगत चार दशकदेखि दक्ष, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा पनि गरे । उनले शिक्षा क्षेत्रमा समयसापेक्ष प्रविधि, नैतिकता र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । साथै, विद्यार्थीलाई अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अध्ययनमा एकाग्र हुन आग्रह गरे ।

विद्यालयकी संस्थापक अध्यक्ष विणादेवी साहले विद्यालयको इतिहास र उपलब्धिबारे चर्चा गर्दै समाजलाई शिक्षित र सक्षम नागरिक प्रदान गर्नु नै मुख्य उद्देश्य रहेको बताइन् । उनले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै संस्कार र समावेशी शिक्षालाई सदैव प्राथमिकतामा राख्दै आएको जानकारी दिइन् ।

वार्षिकोत्सव समारोहमा विद्यालयका संस्थापक डा. सोनु साहले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई नैतिकता र सीपसँग जोडिनुपर्ने धारणा राखे । कार्यक्रममा शिखा नायक लगायतले पनि आ–आफ्नो विचार व्यक्त गरे ।

सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य, गीत र प्रतिभा प्रदर्शन गरेका थिए । ४०औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप समेत आयोजना गरेको थियो ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation