
काठमाडौँ ।
साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ ।
आज बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनको अधिकांश समय बजार नकारात्मक रहँदा पनि अन्तिम समयमा आएको सुधारले नेप्से परिसूचक बढाएको हो ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरि ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार कित्ता शेयर ६९ हजार २६१ पटक खरिदबिक्री भएका थिए ।
आज कुल १२९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । ११५ कम्पनीको मूल्य घटेको छ भने बाँकी १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
आजको बजारमा साञ्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८.१६ प्रतिशतले बढेर ७९५ रुपैयाँ पुगेको छ । त्यस्तै, एसबाई प्यानलको मूल्य ५.७१ प्रतिशत र खानीखोला हाइड्रोपावरको ४.६३ प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोपावरको मूल्य ३.९० प्रतिशतले घटेर आजको सर्वाधिक गिरावट देखिएको छ ।
बजारमा बैंकिङ समूहसहित सत समूह सकारात्मक रहेका छन् भने ६ समूहमा गिरावट आएको छ । सबै समूहमा एक प्रतिशतभन्दा कमको उतारचढाव देखिएको छ ।
कारोबार रकमको आधारमा आज सायपत्री हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यस कम्पनीको २० करोड ६ लाख ३२ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, बन्दीपुर केवलकारको १७ करोड ६० लाख र साञ्भी इनर्जीको १५ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।










