
काठमाण्डौ – आउँदो माघ ४ गतेदेखि घरेलु मैदानमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार समूह चरणमा नेपालका चार वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएका छन् । यसअघि समूह चरणका दुई खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक गरिएको थियो ।
तालिकाअनुसार नेपालले पहिलो खेल माघ ४ गते थाइल्यान्डसँग, दोस्रो खेल माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेल माघ १० गते जिम्बावे–सँग र चौथो खेल माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।
१० वटा टोली सहभागी रहने प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थानमा रहने टोलीहरू ‘सुपर–सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।










