
काठमाडौँ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सातौँ दिन आज (आइतबार) खेल छैन । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको तालिकाअनुसार आज लिगमा विश्राम दिन तोकिएको छ ।
सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे निर्धारित पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन् ।
दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।
हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ ।
दुई खेल खेलेको पोखरा एभेन्जर्स भने दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा रहेको छ ।
मङ्सिर १ गते प्रारम्भ भएको एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्ससहित आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन् ।
फाइनल खेल मङ्सिर २७ गते हुने कार्यक्रम छ ।












