
४ मंसिर, काठमाडौं ।
बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ०.९३ अंक घटेर २५६० अंकमा पुगेको छ ।
नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ । दिनभर बजारको उतारचढाव सामान्य रह्यो ।
आज ११२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत हिसाबमा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले बढेको छ ।
जेनजी आन्दोलनपछि होटल तथा पर्यटन समूह सबैभन्दा धेरै प्रभावित हुने अनुमान गरिएको थियो । तर पर्यटन सिजन सुरु भएपछि अधिकांश कम्पनीमा त्यसको असर देखिएको छैन । यसैले लगानीकर्ता यस सेक्टरमा आकर्षित देखिएका छन् ।
अन्य समूहको प्रदर्शन यसप्रकार छ: जलविद्युत् ०.०९, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.२७, अन्य ०.३० र व्यापार समूह ०.१७ प्रतिशतले बढेका छन् । बैंकिङ ०.३४, विकास बैंक ०.०८, लगानी ०.५२, जीवन बीमा ०.०६ र निर्जीवन बीमा ०.३३ प्रतिशतले घटेका छन् ।
आज चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनी हुन् धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी । यीमध्ये धौलागिरीबाहेक अन्य कम्पनी हालै सूचीकृत भएका हुन् ।
सिंधु विकास बैंकको मूल्य ९.६० प्रतिशत, सप्तकोशी विकास बैंक ७.७१ प्रतिशत र चिरख्वा हाइड्रोपावर ६.८० प्रतिशतले बढेको छ । जबकि बुंगल हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.०५ प्रतिशतले घटेको छ । दरामखोलाको मूल्य ४.९१ र विकास हाइड्रोपावर ३.७९ प्रतिशतले घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर रहेका छन् ।












