हिमालयन डिस्टिलरीको नाफा ५४ प्रतिशत घट्यो

२७ कात्तिक, काठमाडौं ।

हिमालयन डिस्टिलरीको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५४.६१ प्रतिशतले घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस त्रैमासिकमा खुद नाफा ९ करोड २ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १९ करोड ८८ लाख रुपैयाँ थियो ।

कम्पनीको बिक्री आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बिक्री आम्दानी १ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ ।

बिक्री आम्दानी घटेपछि समग्र सञ्चालन आम्दानीमा पनि कमी आएको छ । पहिले सञ्चालन आम्दानी २६ करोड ४६ लाख रुपैयाँ रहेकोमा हाल १२ करोड ५७ लाख रुपैयाँ छ ।

खुद नाफामा आएको यस प्रभावले वार्षिक प्रतिसेयर आम्दानीमा पनि कमी ल्याएको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी २५.८८ रुपैयाँ रहेकोमा हाल ११.७५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा छ भने हाल बजारमा सेयर मूल्य ११५२ रुपैयाँ छ ।

कम्पनीले आफ्नो त्रैमासिक प्रतिवेदनमा उल्लेख गरेको छ कि भारी वर्षा, बाढी, पहिरो र जेनजी आन्दोलनका कारण बिक्री आम्दानीमा असर परेको हो । साथै, कम्पनीले कात्तिक २५ देखि नयाँ उत्पादन “श्लोक ह्विस्की” बजारमा ल्याएको जानकारी पनि दिएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation