नेप्से ३ दिनपछि बढ्यो

२५ कात्तिक, काठमाडौं ।

अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंकले बढेको हो ।

यो वृद्धिपछि नेप्से २५६५ अंकमा अडिएको छ । आज सुरुवाती कारोबारपछि करिब साढे १ बजेसम्म ओरालो लागेको नेप्से त्यसपछि सम्हालिएको हो ।

१४२ कम्पनीको मूल्य बढ्दा, १०२ कम्पनीको घट्यो भने १० कम्पनीको स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६२ करोडको भयो ।

समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशत बढे ।

अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशत घटे ।

चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत बढेका कम्पनी सबै हालै सूचीकृत भएका हुन् । यसमा बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावर पर्छन् ।

त्यस्तै, दरामखोला हाइड्रोपावर ६.८८, इस्टर्न हाइड्रोपावर ६.२९ तथा स्वस्तिक लघुवित्त ४ प्रतिशतले मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घटेको छ ।

आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर रहेका छन् ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation