राष्ट्र बैंकले ३ अर्ब ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको तीन अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार यो रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो ।

राष्ट्र बैंकले प्रकाशित सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशतभन्दा बढी नभएको र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

साथै, योग्य बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation