
काठमाडौँ ।
आज विश्व सिमसार दिवस । ‘सिमसार र परम्परागत ज्ञान : सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । विश्व सिमसार दिवस हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइन्छ ।
मानवीय अतिक्रमण र जलवायु परिवर्तनका कारण नेपालमा सिमसार क्षेत्र क्रमशः सीमित हुँदै गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार अव्यवस्थित विकास निर्माण, बढ्दो जनसङ्ख्या, प्रदूषण तथा फोहरमैला सोझै नदीमा विसर्जन गर्ने प्रवृत्तिले सिमसार क्षेत्रको गुणस्तर घट्दै गएको छ ।
यसका अतिरिक्त जलवायु परिवर्तनका कारण आउने बाढी र खडेरी, रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग, साथै परम्परागत कृषि प्रणालीमा आएको रूपान्तरण पनि सिमसार संरक्षणका प्रमुख चुनौती बनेका छन् । वरिष्ठ इकोलोजिस्ट आचार्यले यी कारणले सिमसार प्रणाली थप जोखिममा परेको बताउनुभयो ।
हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल, जगदीशपुर जलाशय, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड लगायत १० वटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । विभागको तथ्याङ्कअनुसार नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति तथा प्राणी सिमसार क्षेत्रमै आश्रित रहेका छन् । विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ ।
विश्वभर हालसम्म एक सय ७२ देश रामसार महासन्धिमा आबद्ध भएका छन् भने दुई हजार चार सय २२ सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । जल शुद्धीकरण, जलचक्रको नियमन तथा तापमान सन्तुलन कायम गर्न सिमसारले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई ‘प्रकृतिको मिर्गौला’ पनि भनिन्छ ।












