
काठमाडौँ ।
विभिन्न कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाइन्छ ।
सहिद दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद—धर्मभक्त माथे, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री—को सम्झनामा यो दिवस मनाइन्छ ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै माथे, ठाकुर, श्रेष्ठ र शास्त्रीलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भयो र नेपालमा प्रजातन्त्रको स्थापना भयो ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवसमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम आयोजना गरिन्छ ।
यस्तै, माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाइन्छ । विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेलाई सिफलमा, र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्द्रलाई शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।












