घोराही उपमहानगर नेपालकै पहिलो लैङ्गिक हिंसा नियन्त्रित नगर घोषित

दाङ, १५ माघ ।
दाङको घोराही उपमहानगरपालिकालाई नेपालकै पहिलो लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको छ ।

लैङ्गिक हिंसा नियन्त्रणका लागि तय गरिएका सबै सूचक पूरा भएपछि नगरको ४८औँ स्थापना दिवसको अवसरमा बिहीबार घोराहीमा आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिकालाई लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराहीलाई औपचारिक रूपमा लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गरेका थिए । सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले घोराहीले यस्तो घोषणा गरेर देशमै नमुनायोग्य काम गरेको उल्लेख गर्दै यसबाट सबै पालिकाले सिक्नुपर्ने बताए ।

घोराहीले यसअघि मानव विकास सूचकका आधारमा बालमैत्री तथा साक्षर नगरको घोषणा गरिसकेको उल्लेख गर्दै उनले संघीय र प्रदेश सरकारले तोकेका सूचक पूरा गरी लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा हुनु सिंगो देश र प्रदेशकै लागि उदाहरणीय कार्य भएको बताए ।

अब कुनै पनि घरपरिवारमा लैङ्गिक हिंसा नहुने र हुन नदिने प्रतिबद्धता सबैले जनाइसकेको उल्लेख गर्दै उनले घोराही देशकै पहिलो लैङ्गिक हिंसा नियन्त्रित पालिका बनेको बताए ।

सो अवसरमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोराहीले भौतिक विकाससँगै सामाजिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । नगरलाई बालमैत्री र लैङ्गिक हिंसा नियन्त्रित जस्ता अभियान सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उनले आगामी दिनमा नगरले अघि सार्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले समाजलाई समुन्नत र सभ्य बनाउन लैङ्गिक हिंसा नियन्त्रणले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले पूर्वाधार विकास मात्रले समग्र विकास सम्भव नहुने उल्लेख गर्दै सामाजिक विकासबिनाको विकास दिगो हुन नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री आचार्यले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलाई लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गरेकोमा कदरपत्र प्रदान गरेका थिए । साथै जिल्ला समन्वय समिति दाङद्वारा घोराही उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोती विश्वकर्मालाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी लैङ्गिक हिंसा नियन्त्रित नगर बनाउन सहयोग पुर्‍याउने विभिन्न संस्था तथा व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।

घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा कुमारी डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगरको विपद् व्यवस्थापन शाखा प्रमुख मदनकुमार वलीले गरेका थिए ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation