
काठमाडौँ ।
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भयो ।
स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमै ६८ रनमा अलआउट भयो । नेपालका लागि विन्दु रावल र रोमा थापाले अविजित १४–१४ रन बनाए । स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट लिइन् ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले १ सय ४० रन बनाउँदै अलआउट भयो । स्कटल्यान्डकी प्रियनाज चटर्जीले अविजित ४५ रन बनाइन् । नेपालकी मनिषा उमाध्यायले ४ विकेट लिँदा रुविना क्षेत्रीले ३ विकेट लिइन् ।
यस नतिजासँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको छ । स्कटल्यान्ड भने सुपर सिक्समा प्रवेश गरेको छ ।
यसैबीच, आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत सुपर सिक्समा पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ । समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।
समूह ‘ए’ अन्तर्गत पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गरेपछि अमेरिका पनि सुपर सिक्समा प्रवेश गरेको छ । समूह ‘ए’ बाट बङ्गलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेका हुन् ।
सुपर सिक्स चरणबाट शीर्ष चार टोली आगामी जुन महिनामा इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।












