
काठमाडौँ ।
लोक सेवा आयोगले विभिन्न पदका परीक्षासम्बन्धी सूचनाबारे सामाजिक सञ्जालमा भ्रम फैलिएको भन्दै त्यसप्रति ध्यानाकर्षण गराएको छ । आयोगले परीक्षा सञ्चालनसम्बन्धी आधिकारिक सूचनाबाट मात्र जानकारी लिन आग्रह गरेको छ ।
आयोगका अनुसार २०८२ असोज २९ गते प्रकाशित विज्ञापनअनुसार २०८२ मंसिर ०८ देखि २८ गतेसम्म सञ्चालन हुने गरी तोकिएका कृषि तथा वन सेवाअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह (प्राविधिक) पदका पूर्वनिर्धारित परीक्षाहरू हाल स्थगित गरिएको छैन ।
तर, मिति २०८२ मंसिर ०६ मा सामाजिक सञ्जालमा प्रकाशित एक सूचना आधिकारिक नभएको भन्दै त्यसबाट भ्रम नपर्न आयोगले सबै सम्बन्धितलाई आग्रह गरेको छ । आयोगले उक्त भ्रमपूर्ण सूचनाको सम्बन्धमा आवश्यक छानबिन प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
आयोगले तोकिएको समयमै परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई पुनः जानकारी गराउँदै परीक्षा सञ्चालनसम्बन्धी जानकारीका लागि आयोगको आधिकारिक सूचना तथा माध्यमलाई मात्र आधार मान्न अनुरोध गरेको छ ।
यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा आयोगका प्रवक्ता तथा सूचना अधिकारीसँग सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।












