
काठमाडौँ ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको छ ।
आइतबार मध्यरातदेखि उक्त आचारसंहिता लागू गरिएको आयोगले सूचना जारी गर्दै जनाएको छ । आयोगले यसअघि माघ ३ गतेदेखि नै आचारसंहिता लागू हुने जानकारी दिएका थिए, तर आजदेखि यो कार्यान्वयनमा आएको हो ।
आचारसंहिता सबै तहका सरकारी कार्यालय, सार्वजनिक संस्थान, विश्वविद्यालय, सङ्घ–संस्था तथा प्रतिष्ठान, राजनीतिक दल र उम्मेदवारहरूका लागि लागू हुने आयोगले जनाएको छ ।
१. के गर्न पाइन्छ?
क. प्रचार–प्रसार
तोकिएको समय र स्थानमा मात्र निर्वाचन प्रचार–प्रसार गर्न पाइन्छ ।
ख. कपडाको ब्यानर
निर्वाचन प्रचारको लागि ३x४ फिट साइजको एउटा मात्र रङ भएको कपडाको ब्यानर प्रयोग गर्न पाइन्छ ।
ग. सवारी साधन प्रयोग
अनुमति लिएर मात्र तोकिएको सङ्ख्यामा सवारी साधन प्रयोग गर्न पाइन्छ । उम्मेदवारले प्रतिनिधि सभाका लागि बढीमा दुईवटा र प्रदेश सभाका लागि एउटा हलुका सवारी साधन प्रयोग गर्न सक्नेछन् ।
घ. सञ्चार माध्यममा विज्ञापन
रेडियो, टेलिभिजन वा पत्रपत्रिकामा तोकिएको समय सीमा भित्र विज्ञापन दिन पाइन्छ ।
ङ. टोपी र टिसर्ट
उम्मेदवारले आफ्नो पहिचान खुल्ने साधारण चिन्ह भएको टोपी वा टिसर्ट लगाउन सक्छन्, तर ती वितरण गर्न पाइँदैन ।
च. शान्तिपूर्ण जुलुस
स्थानीय प्रशासनको अनुमति लिएर तोकिएको मार्गमा मात्र जुलुस वा आमसभा गर्न पाइन्छ ।
छ. निर्वाचन खर्च
निर्वाचन आयोगले तोकेको सीमाभित्र प्रचार–प्रसारका लागि खर्च गर्न पाइन्छ । निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र वास्तविक खर्चको विवरण आयोगमा बुझाउनुपर्छ ।
२. के गर्न पाइँदैन?
(क) सरकारी र सार्वजनिक निकायका लागि
सरकारी स्रोत वा साधन (सवारी साधन, भवन आदि) कुनै पनि पक्षको प्रचारमा प्रयोग गर्न पाइँदैन ।
नयाँ पद सिर्जना, नियुक्ति, सरुवा वा बढुवा गर्न पाइँदैन । अत्यावश्यक अवस्थामा आयोगसँग अनुमति लिनुपर्छ ।
नयाँ योजनाको शिलान्यास वा बजेट स्वीकृत नभएका नयाँ कार्यक्रम घोषणा गर्न पाइँदैन ।
(ख) राजनीतिक दल र उम्मेदवारका लागि
निर्वाचन प्रचार–प्रसार वा जुलुसमा बालबालिकालाई प्रयोग गर्न पूर्णतया निषेध छ ।
मतदातालाई लोभ्याउन भोजभतेर, नगद वा उपहार वितरण गर्न पाइँदैन ।
घर वा सार्वजनिक स्थानको भित्तामा रङले लेख्न वा पोस्टर टाँस्न पाइँदैन ।
मन्दिर, मस्जिद, गुम्बा, चर्च वा कुनै धार्मिक स्थलमा प्रचार गर्न पाइँदैन ।
निर्वाचनको क्रममा कुनै प्रकारको हातहतियार प्रदर्शन वा प्रयोग गर्न पाइँदैन ।
(ग) सामाजिक सञ्जाल र सञ्चार माध्यमका लागि
कसैको चरित्र हत्या हुने गरी झुटो सूचना फैलाउन, मिथ्या सूचना दिन वा ‘हेट स्पीच’ दिन पाइँदैन ।
अरूको पोष्टमा नकारात्मक प्रतिक्रिया दिन वा अरूलाई अपमान गर्ने गरी सेयर/ट्याग गर्न पाइँदैन ।












