
काठमाडौँ ।
नेपालको छिमेकी मुलुक भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । अबको तीन वर्षभित्र उसले जर्मनीलाई पनि उछिन्ने प्रक्षेपण गरिएको छ । तर हालको आधिकारिक स्थिति भने सन् २०२६ को वार्षिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्याङ्क सार्वजनिक भएपछि मात्र पुष्टि हुने समाचार संस्था एएफपीले जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि भारतको अर्थतन्त्रले अर्को वर्ष जापानलाई उछिन्ने अनुमान गरेको छ । आइएमएफका अनुसार सन् २०२२ मा भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो । त्यस वर्ष भारतले बेलायतलाई उछिन्दै ऐतिहासिक रूपमा महत्वपूर्ण प्रगति हासिल गरेको थियो ।
हालका सरकारी आर्थिक सूचकअनुसार ४१ खर्ब ८० अर्ब अमेरिकी डलरको कूल गार्हस्थ्य उत्पादनसहित भारतले जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्रको स्थान हासिल गरेको छ ।
भारतको जीडीपी सन् २०३० सम्ममा ७३ खर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आइएमएफले सन् २०२६ मा जापानको जीडीपी ४४ खर्ब ६० अर्ब डलर र भारतको ४५ खर्ब १० अर्ब डलर पुग्ने प्रक्षेपण गरेको छ । गएको अगस्टमा अमेरिकाले भारतको रुसी तेल खरिदमा भन्सार शुल्क लगाए पनि भारतले आफ्नो आर्थिक विकासको गति कायम राख्न सफल भएको देखिन्छ ।
भारत सरकारले यस अवस्थालाई ‘विश्वव्यापी व्यापार अनिश्चितताबीचको लचिलोपन’ का रूपमा व्याख्या गरेको छ । यद्यपि, अन्य आर्थिक सूचकहरूले केही चुनौतीसमेत देखाएका छन् ।
जनसङ्ख्याको हिसाबले भारत सन् २०२३ मा चीनलाई उछिन्दै विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको थियो । सरकारी तथ्याङ्कअनुसार भारतको करिब १ अर्ब ४० करोड जनसङ्ख्यामध्ये झन्डै एक चौथाइ १० देखि २६ वर्ष उमेर समूहका छन् ।
यस ठूलो युवा जनशक्तिलाई उत्पादनशील बनाउँदै समावेशी र दिगो विकासका लागि गुणस्तरीय रोजगारी सिर्जना गर्नु भारतका लागि मुख्य चुनौतीका रूपमा रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष उपभोग करमा व्यापक कटौती तथा श्रम कानुन सुधारको घोषणा गर्दै आर्थिक वृद्धिलाई टेवा दिने कदम चाल्नुभएको छ ।
यसैबीच, गएको नोभेम्बरमा भारतको औद्योगिक उत्पादन ६.७ प्रतिशतले वृद्धि भएको छ ।










