
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार अनौठो संयोग देखिएको छ । एक आयुक्त र दुई सहसचिवको कार्यकाल समाप्त हुने दिन सोमबार परेको हो ।
आयुक्त किशोर सिलवाल ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गए । उच्च अदालतका कामु मुख्य न्यायाधीशबाट सिलवाल २०७७ माघमा अख्तियारको आयुक्त बनेका थिए ।
उनले ५ वर्ष अख्तियारमा काम गरे । ६ वर्षे कार्यकाल हुने भए पनि उमेर हदका कारण ५ वर्षमा नै अवकाशमा गएका हुन् । सोमबार सिलवालको आयोगबाट बिदाइ गरिएको छ ।
सहसचिवद्वय राजेन्द्र कुमार पौडेल र पुष्कर सापकोटालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । अख्तियारका प्रवक्तासमेत रहेका पौडेल प्रशासनतर्फबाट र सापकोटा कानुनतर्फबाट सचिवमा बढुवा भएका हुन् । उनीहरूको बिदाइ भने सोमबार भएको छैन ।
प्रशासनतर्फको सचिवमा बढुवा गर्नका लागि अख्तियारका प्रवक्ता पौडेलसहित ३ जनाको नाम आइतबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा हुने बढुवा समितिले सिफारिस गरेको थियो ।
समितिले पौडेलसहित वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सहसचिव इन्दु घिमिरेको नाम सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले सबैभन्दा वरिष्ठ रहेका पौडेललाई बढुवा गरेको हो । उनको पदस्थापन भने भएको छैन । कोशी प्रदेशको प्रमुख सचिवको पद खाली रहेकाले त्यही पदमा नियुक्त हुने सम्भावना रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत बताउँछ ।
कानुनतर्फका आयोगमै कार्यरत सचिव पुष्कर सापकोटालाई पनि सचिवमा बढुवा गर्ने निर्णय सोमबारको बैठकले गरेको छ । सापकोटाको बढुवासँगै उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापित भएका छन् ।
कानुन सचिव फणीन्द्र गौतम मङ्सिर १८ गते अनिवार्य अवकाशमा गएका थिए ।










