रथी गणेशकुमार श्रेष्ठ यूएन अबेई मिसनका फोर्स कमान्डरमा नियुक्त

१८ मंसिर, काठमाडौं ।

नेपाली सेनाका बलाधिकृत रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको अबेई मिसनका लागि फोर्स कमान्डरमा नियुक्त भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सकिएपछि गुटेरेसले श्रेष्ठलाई फोर्स कमान्डरको जिम्मेवारी दिएका हुन् ।

नेपाली सेनामा ३६ वर्षदेखि सेवा गर्दै आएका श्रेष्ठले विविध नेतृत्वदायी जिम्मेवारी निभाइसकेका छन् । उनी दक्षिण सुडानमा सेक्टर–पूर्वका लागि सेक्टर कमान्डरका रूपमा समेत कार्यरत रहे । त्यस्तै, उनले सुदूरपश्चिम पृतनापति, रम्भार रथी तथा नेपाली सेनाका विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरेका छन् ।

श्रेष्ठले वीरेन्द्र सैनिक अस्पतालमा प्रशासनिक रजिस्ट्रारको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी, नेपाली सेना मुख्यालयमा नीति तथा योजना निर्देशकको रूपमा पनि सेवाघर गरेका छन् ।

उनी चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयको इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडीजबाट सैन्य विज्ञान तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर हुन् । त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा मानविकी तथा सामाजिक विज्ञानमा स्नातक डिग्री हासिल गरेका छन् ।

२५ असोजमा बलाधिकृत रथी निर्मलकुमार थापा ५८ वर्षे उमेर हदका कारण अवकाश भएपछि श्रेष्ठ रथीमा बढुवा भएका थिए । थापा पनि दीर्घकालसम्म संयुक्त राष्ट्रसंघकै फोर्स कमान्डरका रूपमा कार्यरत थिए । श्रेष्ठ संयुक्त राष्ट्रसंघको फोर्स कमान्डर बन्ने आठौँ नेपाली सैनिक हुन् ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation