
काठमाडौँ ।
दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा भारतले नेपाललाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।
नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतकी फुला सरेनले नटआउट ४४ रन बनाइन् । नेपालकी दिल्लीसरा धमलाले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । नेपालकी सरिता घिमिरेले नटआउट ३३ रन बनाइन् । भारतकी जमुना रानी टुडु र अनु कुमारीले १–१ विकेट लिए ।
हिजो भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो, भने भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको थियो ।
भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेको दृष्टिविहीन महिला टी–२० विश्वकपको पहिलो संस्करणमा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ टोलीको सहभागिता रहेको थियो ।












