राष्ट्र बैंकको आम्दानी ८० अर्ब, तरलता व्यवस्थापनमा ९ अर्ब खर्च

१ मंसिर, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकमा विदेशी विनिमय सञ्चितिमा आएको ऐतिहासिक सुधारसँगै खुद आय पनि बढेको हो ।

राष्ट्र बैंकले विदेशी मुद्रा लगानीमार्फत आम्दानी गर्छ । विदेशी मुद्रालाई नेपालभन्दा बाहिर सरकार तथा अन्य केन्द्रीय बैंकका वित्तीय औजारमा लगानी गरिन्छ ।

विदेशी विनिमय सञ्चितिको अवस्थाले राष्ट्र बैंकको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्छ । पछिल्लो समय रेमिट्यान्समा आएको उच्च वृद्धि र आन्तरिक अर्थतन्त्रको सुस्त गतिले केन्द्रीय बैंकमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहँदै आएको छ ।

चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको कमाइ अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले बढी भएको छ ।

राष्ट्र बैंकले उक्त खुद आयलाई विभिन्न कोषमा छुट्याएपछि ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरु पौडेलले बताए ।

केन्द्रीय बैंकले सरकारलाई उपलब्ध गराउने उक्त रकम अघिल्लो आवको तुलनामा ५ अर्बले बढी हो । आर्थिक २०८०/८१ मा बैंकले ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराएको थियो ।

पौडेलका अनुसार केन्द्रीय बैंकले आम्दानी गर्ने मुख्य स्रोत भनेको विदेशी मुद्राको लगानी हो । साथै वित्तीय प्रणालीमा तरलता संकुचन भएको अवस्थामा तरलता व्यवस्थापनबाट पनि केन्द्रीय बैंकलाई आम्दानी हुन्छ ।

पछिल्ला वर्ष अधिक तरलताका कारण राष्ट्र बैंकले ठूलो रकम खर्च गरेर तरलता व्यवस्थापन गर्दै आएको छ । गत वर्ष करिब ९ अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि खर्च भएको बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा तरलता व्यवस्थापनका लागि गरिने खर्च गत आवको भन्दा बढी हुने अनुमान छ ।

बैंकले गत आर्थिक वर्षको प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त प्रतिवेदन आइतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएका छन् ।

तीन खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थिति समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकाजको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरिएको छ । वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरण समेटिएका छन् ।

२०८२ असार मसान्तसम्मको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation