कात्तिकमा राजस्व संकलन १४ अर्बले घट्यो, आयात कमीले सरकारी लक्ष्य प्रभावित

काठमाडौं ।

कात्तिक महिनामा राजस्व संकलन कमजोर भएपछि सरकारी ट्रेजरीमा अप्ठ्यारो अवस्था देखिन थालेको छ । अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले राजस्व संकलनमा आएको गिरावटले वित्तीय व्यवस्थापनमा दबाब बढेको संकेत दिएको हो ।

तथ्यांक अनुसार पहिलो चौमासिक अर्थात् कात्तिक मसान्तसम्म सरकारले कुल ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । असोजसम्म राजस्व २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ संकलन भएकोमा कात्तिकसम्मको रकम वार्षिक लक्ष्यको ७७.४९ प्रतिशत मात्र हो । कात्तिक महिनामा सरकारले १ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो, तर यो महिनामा जम्मा ७८ अर्ब ३३ करोड रुपैयाँ मात्रै संकलन हुन सक्यो । यो मासिक लक्ष्यको ७५.५४ प्रतिशत मात्र हो, जुन अघिल्लो महिनाको तुलनामा १४ अर्ब १३ करोड रुपैयाँ कम हो ।

असोज महिनामा लक्ष्य प्राप्तिको दर ८९.७१ प्रतिशत रहेकोमा कात्तिकमा यो दर १४.१७ प्रतिशत बिन्दुले घटेको छ । यसले समग्र वार्षिक लक्ष्य प्राप्तिमा पनि ०.६३ प्रतिशत बिन्दुले नकारात्मक प्रभाव पारेको देखिन्छ ।

कात्तिकमा राजस्व घट्नुमा सबै शीर्षकका राजस्वमा आएको गिरावट जिम्मेवार रहेको अधिकारीहरूको निष्कर्ष छ । विशेषगरी भन्सार महसुलमा देखिएको कमी प्रमुख कारण बनेको हो । कात्तिकमा भन्सार महसुलको लक्ष्य प्राप्ति दर ६८.९३ प्रतिशत मात्र रह्यो, जबकि असोजमा यो दर ८९.१७ प्रतिशत थियो । भन्सार संकलन घटेपछि भन्सारमै आधारित मूल्य अभिवृद्धि कर पनि प्रभावित भयो । असोज मसान्तसम्म लक्ष्यको १०२.१७ प्रतिशत पुगेको भीएटी कात्तिकमा झरेर ७५.७९ प्रतिशतमा सीमित भएको छ । पैठारीमा आधारित अन्तशुल्क संकलन पनि असोजको ८४.५० प्रतिशतबाट घटेर कात्तिकमा ७०.०२ प्रतिशत पुगेको छ ।

कात्तिक मसान्तसम्म संकलित कुल राजस्वमध्ये भन्सार महसुल ७४ अर्ब ५९ करोड, आयकर ९३ अर्ब २३ करोड, मूल्य अभिवृद्धि कर १ खर्ब २५ अर्ब २८ करोड, अन्तशुल्क ६२ अर्ब १ करोड, गैरकर आम्दानी १९ अर्ब ६५ करोड, शिक्षा सेवा शुल्क तथा अन्य राजस्व १ अर्ब ६१ करोड र विविध प्राप्ति २ अर्ब ९६ करोड रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । सरकारका अनुसार चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ, तर हालसम्म संकलित रकम वार्षिक लक्ष्यको २२.२६ प्रतिशत मात्रै पुगेको छ ।

आर्थिक मन्दीका कारण व्यवसायिक नाफामा आएको गिरावटले आयकर संकलनमा दबाब बढाएको अधिकारीहरूको भनाइ छ । चाडपर्वका कारण असोजमा आयात र उपभोगमा वृद्धि भई अप्रत्यक्ष करमा केही सुधार देखिए पनि कात्तिकमा आयातमा आधारित राजस्व नै घटेपछि समग्र राजस्व संकलनमा थप निराशा देखिएको हो ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation