पहिलो पटक एक महिनामै २ खर्ब रेमिट्यान्स, आप्रवाहमा ऐतिहासिक वृद्धि

काठमाडौं, ३० कात्तिक ।

असोज महिनामा मुलुकमा भित्रिने रेमिट्यान्सले अहिलेसम्मकै नयाँ कीर्तिमान बनाएको छ । पहिलो पटक एकै महिनामा २ खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हो ।

असोज महिनामा दशैं–तिहारजस्ता ठूला चाडबाड पर्ने भएकाले विदेशमा रहेका नेपालीले स्वदेशमा परिवारका लागि बढी रकम पठाउने गर्छन् । यही कारणले रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएको बैंकको विश्लेषण छ । गत आर्थिक वर्षको असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको साउनदेखि असोजसम्म ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । उक्त वर्षमा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.९ प्रतिशतले बढेको थियो ।

चालु आवका तीन महिनामा भित्रिएको रेमिट्यान्स अमेरिकी डलरमा २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड डलर पुगेको छ । गत आवमा यो दर १०.६ प्रतिशत रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या असोजसम्म १ लाख २३ हजार ४५९ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ । गत आवको सोही अवधिमा नयाँ श्रम स्वीकृति १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति ५९ हजार ९३९ रहेको थियो ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation