मंसिरमा व्यक्तिगत मुद्दती ब्याजदर घट्यो, १० बैंकले स्थिर राखे

काठमाडौँ ।

मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर कात्तिकको तुलनामा घटेको छ ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको महशाखाले जनाएको छ ।

कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिरमा ५.०४०५ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले तीन वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त दर तोकेको हो ।

कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने १० बैंकले घटाएका छन् । त्यसैले औसतमा घटावट देखिएको हो ।

ब्याजदर घटाएका बैंकमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

स्थिर राखेका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक रहेका छन् ।

छोटो अवधिका मुद्दती निक्षेपमा बैंकले कम र लामो अवधिका लागि उच्च ब्याजदर दिने गरेको पाइन्छ । अधिकांश बैंकले पाँच वर्षभन्दा लामो अवधिका लागि व्यक्तिगत मुद्दतीमा उच्चतम ब्याजदर तोकेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत र संस्थागत निक्षेपको ब्याज पनि घट्न जाने सम्भावना हुन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर पनि घट्ने भएकाले कर्जा ब्याजदर स्वचालित रूपमा कम हुने गर्छ ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त हुँदा र कर्जा प्रवाह कम भएको कारण ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ । बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तरबैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरणमार्फत बैंकको पैसा खिच्ने गर्छ ।

हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप संकलन दर २.७५ प्रतिशत कायम छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर सूची

कृषि विकास कात्तिक ४.९५ प्रतिशत, मंसिर ४.९५ प्रतिशत छ । एभरेस्ट कात्तिक ५ प्रतिशत, मंसिर ५ प्रतिशत छ । नेपाल कात्तिक ५.२५ प्रतिशत, मंसिर ५.२५ प्रतिशत छ । लक्ष्मी सनराइज कात्तिक ५ प्रतिशत, मंसिर ५ प्रतिशत छ । माछापुच्छ्रे कात्तिक ५ प्रतिशत, मंसिर ५ प्रतिशत छ । एनआईसी एसिया कात्तिक ५.७५ प्रतिशत, मंसिर ५ प्रतिशत छ । प्रभु कात्तिक ४.९५ प्रतिशत, मंसिर ४.९५ प्रतिशत छ । स्ट्यान्डर्ड चार्टर्ड कात्तिक ५ प्रतिशत, मंसिर ४.७ प्रतिशत छ । राष्ट्रिय वाणिज्य कात्तिक ५.५ प्रतिशत, मंसिर ५.५ प्रतिशत छ । नबिल कात्तिक ४.९५ प्रतिशत, मंसिर ४.७५ प्रतिशत छ । ग्लोबल आईएमई कात्तिक ६ प्रतिशत, मंसिर ६ प्रतिशत छ । सिद्धार्थ कात्तिक ५.५ प्रतिशत, मंसिर ५ प्रतिशत छ । प्राइम कमर्सियल कात्तिक ५ प्रतिशत, मंसिर ४.७५ प्रतिशत छ । कुमारी कात्तिक ५.०१ प्रतिशत, मंसिर ४.९१ प्रतिशत छ । सानिमा कात्तिक ५.१५ प्रतिशत, मंसिर ५ प्रतिशत छ । हिमालयन कात्तिक ६ प्रतिशत, मंसिर ५.५ प्रतिशत छ । नेपाल एसबीआई कात्तिक ५ प्रतिशत, मंसिर ४.८ प्रतिशत छ । इन्भेस्टमेन्ट मेगा कात्तिक ५ प्रतिशत, मंसिर ५ प्रतिशत छ । एनएमबी कात्तिक ५ प्रतिशत, मंसिर ५ प्रतिशत छ । सिटिजन्स कात्तिक ५ प्रतिशत, मंसिर ४.७५ प्रतिशत छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation