
काठमाडौँ ।
कर्णाली याक्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतका खेलाडी प्रियाङ्क किरित पन्चाल नेपाल आइपुगेका छन् ।
उनी एयर इन्डियाको जहाजमार्फत बिहीबार राति काठमाडौँ आएका हुन् ।
ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लो पटक भारतीय टोलीबाट हङकङ सुपर सिक्सेस खेलेका थिए । ३५ वर्षीय उनी गुजरातबाट रणजी ट्रफी खेल्छन् । उनी १२७ खेलमा ८,८५६ रन बनाइसकेका छन्, जसमा २९ शतक र ३४ अर्धशतक समावेश छन् ।
यस्तै लिस्ट ए क्रिकेटमा उनले ९७ खेलमा ८ शतकसहित ३,६७२ रन बनाएका छन् । टी–२० मा ५९ खेलमा ९ अर्धशतकसहित १,५२२ रन उनको नाममा छन् ।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौँको होटल याक एन्ड यति, सहप्रायोजकमा एसियन पेन्ट्स, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।
एनपीएलको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म सम्पन्न भएको थियो, जसमा कर्णाली याक्स दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
हाल दोस्रो संस्करणमा पनि टोलीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकमा निरन्तरता दिएको छ भने कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
टोलीले मार्की खेलाडी सोम्पाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ ।
एनपीएलको अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरिएको छ ।












