
काठमाडौँ ।
विविध चेतनामूलक कार्यक्रमसहित आज नेपालसहित विश्वका विभिन्न देशमा विश्व मधुमेह दिवस मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे सर्वसाधारणमा सचेतना फैलाउनु नै यो दिवस मनाउने प्रमुख उद्देश्य हो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस औपचारिकरूपमा मनाइँदै आएको हो । मधुमेह नियन्त्रण तथा उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार प्रभावकारी राष्ट्रिय नीति निर्माण गर्न राष्ट्रसङ्घले सबै सदस्य मुलकलाई निरन्तर प्रोत्साहित गर्दै आएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का तथ्यांकअनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए, जसको संख्या सन् १९८० मा १० करोडको हाराहारी थियो । मोटोपना, अस्वस्थ जीवनशैली, घरभित्र केन्द्रित दैनिकी र शारीरिक गतिविधि न्यूनता मधुमेह बढ्ने प्रमुख कारण मानिन्छन् ।
स्वस्थ आहार सेवन, नियमित व्यायाम, धूमपान तथा मद्यपानबाट टाढा बस्नु मधुमेहको जोखिम घटाउने प्रभावकारी उपाय रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ ।
डब्ल्यूएचओले बढ्दो मधुमेह नियन्त्रणका लागि दीर्घकालीन स्वास्थ्य नीति निर्माण, जनचेतना अभिवृद्धि तथा स्वस्थ जीवनशैली अनुकूल वातावरण निर्माणलाई सबै देशले प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।












