लोकसेवा आयोगका परिक्षा पास गर्न कसरी पढ्ने ?

  • शाखा अधिकृत पास गरेको अनुभव सहित एक अन्तर्वाता
  • नेपालमै सरकारी जागीर खाने र लोकसेवा पास गर्ने सपना धेरैको हुन्छ , लोकसेवा पास गर्नका लागि अथक प्रयास र गहिरो मेहनतले निरन्तरता पाउनु पर्दछ । यसै सम्बन्धमा लोकसेवा आयोगका परिक्षाहरु कसरी पास गर्ने भन्ने सम्बन्धमा लोकसेवाको परिक्षा पास गरि सरकारी सेवामा प्रवेश गरेका व्यक्तिहरु सँगको कुराकानी र अध्ययन गर्ने शैली र तरिकाका बारेमा जानकार हुनु पनि महत्वपुर्ण बिषय हो । यसै सन्र्दभमा आज हामीले लोकसेवा आयोगले लिएको शाखा अधिकृतको परिक्षा पास गरि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा कार्यरत निर्मल पोख्रेल सँग कुराकानी गरेकाछाै ।
    सर नमस्कार, के छ आरामै हुुनुहुन्छ ?
    नमस्कार । आरामै छु ।
    कसरी बित्दै छ जागीरे जिवन ?
    एकनासको दैनिकी । सेवा प्रवाहको चाप । दिनभरि सेवा प्रवाहमा रहने व्यस्तता । विदामा परिवार साथीभाई सँगको भेटघाट । फुर्सदमा अध्ययन । यसरी नै वितिरहेछ जागिरे जीवन ।
     सर , लोकसेवा आयोगले लिएको परिक्षा पास गरेर सरकारी सेवामा प्रवेश गर्ने रहर धेरैको हुन्छ तर कुन तरिकाबाट पढेर, कसरी सजिलै पास गर्न सकिन्छ आफ्नो केहि अनुभवहरु बताइदिनुहोस न ?
    लोकसेवा आयोगको परिक्षामा सफल हुनका लागि कुनै निश्चित नियम हुन्छ भन्ने होईन । निरन्तरको अध्ययन । आफु प्रतिको विश्वास नै सबैभन्दा महत्वपूर्ण पक्ष हुन । अध्ययन गर्ने शैली सबैको एकै किसिमको नहुन सक्छ । आफुलाई लाग्ने उपयुक्त शैली अपनाउने हो । आवश्यक सूचना संकलन, विषयवस्तुको ज्ञान र संग्रह मात्र नभएर विषयवस्तु आधिकारिक श्रोतबाट प्राप्ती र पाठ्यक्रम अनुसारको विषयवस्तु छनौट र सो को अध्ययन गर्नुपर्ने महत्वपूर्ण हो जस्तो लाग्छ ।

    बजारमा विभिन्न लेखकका विभिन्न प्रकारका पुस्तकहरु पाइन्छन, पाठ्यसामग्री छनोट गर्दा के के कुरामा ध्यान दिने सर ?

    पाठ्य सामाग्रीको छनौट सबैभन्दा महत्वपूर्ण विषय हो । पाठ्य सामाग्री छनौट गर्दा विश्वसनीय लेखकको पुस्तक र त्यसमा भएका विषयवस्तुको आधिकारिकता र अद्यावधिक विषयवस्तु समावेश भएको पुस्तक छनौट गर्दा उपयुक्त हुन्छ । त्यसैगरि दैनिक पत्र पत्रिकामा प्रकाशित हुने सामाग्रीहरु आफुले तयारि गरिरहेको पद र तहको पाठ्यक्रमसँग मिल्ने छन् भने ती पनि पाठ्य सामाग्री हुन सक्छन । सूचना प्रविधिको युगमा इन्टरनेटको माध्यमबाट समेत पाठ्य सामाग्री प्राप्त गर्न सकिन्छ । सरकारी निकायका वेबसाईट बाट प्राप्त हुने सूचनाहरु आधिकारिक हुन्छन । विभिन्न तथ्यांकहरु, योजना तथा कार्यक्रमहरु, नीतिहरु, कानुनी तथा व्यवस्थापकीय पक्षहरु सरकारी निकायबाट प्रकाशित सामाग्रीहरुबाट प्राप्त गर्न सकिन्छ । बजारमा उपलब्ध पुस्तकहरुमा मात्र भर पर्दा आधिकारीक र प्रयाप्त सूचना तथा जानकारी प्राप्त नहुन सक्छ ।

     धेरै साथिहरुले सोध्नुहुन्छ कति समय पढ्नुपर्छ वा कति घण्टा पढ्नुपर्छ भनेर सरको अनुभवमा कति घण्टा पढ्नु पर्ला ?

    अध्ययन शैली ब्दकयगितभ क्अष्भलअभ हो जस्तो लाग्दैन । कति समय अध्ययन गर्ने भन्ने कुरा अध्ययन शैली, ग्रहण गर्न सक्ने क्षमता जस्ता पक्षले प्रभाव पार्दछन । लोकसेवा आयोगको तयारि गरिरहेका परिक्षर्थीले आफुले परिक्षा दिन चाहेको पदको पाठ्यक्रम अनुसारका विषयवस्तुको ठोस ज्ञान प्राप्त हुने गरि अध्ययन गर्ने हो । लोकसेवा आयोगको तयारि गर्दा विभिन्न शिर्षकको अर्थ सो सम्बन्धमा नेपालमा भइरहेका अभ्यास, कानुनी तथा व्यवस्थापकीय पक्षहरु, सो सँग सम्बन्धित सकरात्मक पक्ष, सुधार गर्नुपर्ने पक्ष अन्तराष्ट्रिय अभ्यासहरु बारे समेत जानकारी राख्नुपर्छ । प्रश्नको समाधान सकारात्मक भाव आउने तवरले गर्नुपर्छ । ज्ञान असिमित हुने हुँदा ठोस विषयवस्तु र आधिकारिक विषयवस्तु को संकलन, उपयुक्त अध्ययन वातावरण र अध्ययन सामाग्रीको निरन्तर अध्ययन र आफुप्रतिको सकारात्मक दृष्टिकोण र विश्वास समेत महत्वपूर्ण हुन्छ ।

    लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने विभिन्न सिकाइ केन्द्रहरु शहर केन्द्रित छन ग्रामीण क्षेत्रका युवाहरुले कसरी र कुन तरिकाबाट लोकसेवा आयोगको तयारी गर्नु उपयुक्त हुन्छ होला ?

    ग्रामीण क्षेत्रमा वसोवास गर्ने, अन्य कुनै पेशा व्यवसायमा संलग्न रहेका कारण विभिन्न इन्सिच्युटहरुमा गएर तयारि कक्षा लिन नसक्नेहरुले समेत लोकसेवा आयोगको तयारि गर्न सक्दैनन भन्ने होइन । अध्ययन गर्ने आफैले हो । विभिन्न इन्सीच्युटहरुमा गएर तयारि गर्न मन छ तर विभिन्न कारणले सकिएको छैन भने अनलाइन कक्षाहरु समेत सञ्चालन भएको हुन्छन । युट्युबमा समेत विभिन्न अध्ययन सामाग्री प्राप्त हुन्छन त्यहाँबाट पनि अध्ययन गर्न सकिन्छ । पूर्ण रुपमा तयारि कक्षामा भर पर्नुभन्दा आफुले अध्ययन सामाग्री संकलन गरि सोको अध्ययन गर्नु उपयुक्त हो जस्तो लाग्छ । आफुले तयारि गरिरहेको पदको लागि उपलब्ध नमुना प्रश्नपत्रहरु तथा लोकसेवा आयोगले विगत वर्षहरुमा सोधेका प्रश्नको समाधान गरि उपयुक्त व्यक्तिबाट पृष्ठपोषण प्राप्त गरि समेत आफुले आफुमा सुधार ल्याउन सकिन्छ । म आफु आजसम्म कुनैपनि कोचिङ सेन्टरबाट अध्ययन नगरेको हुँदा स्वअध्ययन बाट समेत सफल हुन सकिन्छ भन्ने विश्वास राख्दछु ।

     शाखा अधिकृतको परिक्षामा प्रथम चरणको परिक्षालाई र बिषयगत बिषयहरुलाई कसरी तालमेल गरि पढ्ने ? कुन पेपरलाई जोड दिने ?

    परिक्षा फाराम भरेपछि मात्र प्रथम पत्रको तयारि गर्ने र प्रथम पत्रको नतिजा सार्वजनिक भएपछि मात्र विषयगत पत्रहरुको तयारि गर्ने गर्नु उपयुक्त होइन जस्तो लाग्छ । प्रथम चरणको परिक्षा हुनुभन्दा पहिले स्वभाविक रुपमा प्रथम पत्रलाई बढी प्राथमिकता दिएर अध्ययन गर्नुपर्ने हुन्छ । तर सँगसँगै विषयगत पत्रका विषयहरुलाई समेत निश्चित समय छुट्याएर अध्ययनलाई निरन्तरता दिनुपर्ने हुन्छ । विषयगत प्रश्नको तयारि गर्दा एउटै पत्रका विभिन्न पाठहरु विचको अन्तरसम्बन्ध पहिल्याउने । एउटा पत्रमा अध्ययन गरेका विषयवस्तु अन्य पत्रमा पनि सम्बन्धित रहेछन भने तीनीहरु विचको अन्तरसम्बन्ध पहिचान गरि अध्ययन गर्नुपर्छ । सबै पेपरलाई उत्तिकै महत्व दिनुपर्छ । स्वभाविक रुपमा आफुलाई अलि कठिन लाग्ने विषयवस्तुलाई अलि बढी समय दिने र आफुलाई सहज लाग्ने विषयवस्तुको ज्ञानलाई निखार्न खोज्ने गर्नपर्छ ।

     परिक्षामा समय व्यवस्थापन लाई कसरी ख्याल गर्ने परिक्षाहलमा प्रश्नपत्र हातमा परेपछि समय वितेको पत्तै हुँदैन कसरी समय म्यानेज गर्ने सर ??

    लोकसेवा आयोगको परिक्षामा सफल हुनका लागि विषयवस्तुको ज्ञान र सोको प्रस्तुतीकरण मात्र नभएर उपयुक्त तवरको समय व्यवस्थापन समेत महत्वपूर्ण हुन्छ । सबै प्रश्नले समान अंक धारण गरेको अवस्थामा सबै प्रश्नहरुलाई समान समय दिनुपर्छ । १०० पूर्णाङ्कको ३ घण्टा समय भएको परीक्षामा प्रत्येक १० अंकको लागि १८ मिनेटको हिसाबले समय बाँडफाँड गर्नुपर्छ । उक्त १० अंकको प्रश्नहरु भित्रका खण्डहरुमा पनि सोही तवरले समय व्यवस्थापन गर्नुपर्छ । लोकसेवा आयोगले विगतका वर्षमा सोधेका प्रश्नहरुको माथि उल्लेखित समयसिमा भित्र समाधान परिक्षा तयारिकै क्रममा घरमै अभ्यास गर्ने हो भने परिक्षा हलमा सहज हुन्छ । कुनै प्रश्नको आवश्यकता भन्दा बढी समय लगाउने तर कुनै प्रश्न वा कुनै प्रश्नको कुनै खण्डको प्रश्नको सम्बोधन नगर्ने गर्नु हुदैन ।

     लोकसेवाआयोगले सञ्चालनगर्ने विभिन्न परिक्षाहरुको तयारी गर्दै गरेकानयाँनयाँ परिक्षार्थीहरुलाई के भन्नचाहानुहुन्छ?

    उपयुक्त पाठ्य सामाग्रीको छनौट तथा संकलन, विषयवस्तुलाई संगठित गर्ने तथा मिल्दा विषयवस्तुको ऋगिकतभचष्लन गर्ने, निरन्तरको अध्ययन, आफुप्रतिको विश्वास र सकारात्मक सोचका साथ लोकसेवा तयारि गर्ने हो भने लोकसेवा आयोगका परिक्षामा सफल हुने सहज हुन्छ । पहिलो पटकको प्रयासमा सफल नहुन पनि सकिन्छ तर निरन्तर अध्ययन र आफुप्रति विश्वास र सकारात्मक सोच राखेर अध्ययनलाई निरन्तरता दिनुहोस भन्न चाहन्छु ।

     विश्वविद्यालयको पढाइ एवम त्यसको परिक्षा र लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परिक्षामा के भिन्नता होला सर ?? के भन्न भन्न चाहानुहुन्छ ?

    विश्वविद्यालयको परिक्षा र लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परिक्षामा फरक हुने गर्दछ । विश्वविद्यालयको परिक्षामा परिक्षार्थीहरुलाई विषयवस्तुको ज्ञान सँग सम्बन्धित रहेर प्रश्नको समाधान गर्नुपर्ने हुन्छ भने प्रतिस्पर्धात्मक परिक्षामा विषयवस्तुको ज्ञानको अतिरिक्त सेवामा रहदा निर्वाह गर्ने व्यवहार, आचरण र प्रस्तुतीकरण सिप समेत महत्वपूर्ण हुन्छ । विश्वविद्यालयको परिक्षामा आफुले उर्तीर्णाङ्क ल्याए पुग्छ भने प्रतिस्पर्धातमक परिक्षामा उर्तीर्णाङ्कका साथसाथै आफ्ना प्रतिस्पर्धीहरुभन्दा विषयवस्तु र प्रस्तुतीकरणका तवरले उत्कृष्ट सावित हुनुपर्ने चुनौती रहन्छ ।

     अन्तमा हामीले सोध्न छुटाएको सरलाई भन्न मन लागेको केहि छ कि सर ?

    राष्ट्र सेवक बन्ने चाहना सहित लोकसेवा आयोगको तयारि गरिरहेका सम्पूर्ण उम्मेद्वाहरुलाई सफलताको शुभकामना दिन चाहान्छु ।

    महत्पुर्ण समयको लागी सरलाई धेरै धेरै धन्यावाद ,
    आफ्ना अनुभव र विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद ।

    © 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation