काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु

काठमाडौँ ।

काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन) आयोजना गरिएको छ ।

केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी) को आयोजनामा उक्त सम्मेलन सञ्चालन गरिएको हो । क्लबमार्फत सञ्चालन भइरहेको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणका रूपमा यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

आयोजकका अनुसार पछिल्लो दुई वर्षदेखि सञ्चालन हुँदै आएको ‘एआई–मिट’ कार्यक्रमलाई परिस्कृत गर्दै यस वर्ष ‘एआई कन्क्लेभ’ आयोजना गरिएको हो । एआई क्षेत्रमा सिकाइदेखि नवप्रवर्तनसम्मलाई एउटै प्लेटफर्ममा समेट्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको क्लबका अध्यक्ष अशिम श्रेष्ठले बताए ।

उनका अनुसार सम्मेलनको उद्देश्य एआईलाई केवल ‘रिसर्च’ वा ‘जेनरेटिभ टुल’मा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, शासन, उद्योग तथा समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउनु पनि रहेको छ ।

‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको सम्मेलनले विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता तथा सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

‘एआई कन्भर्जेन्स–२०२६’ तीन चरणमा सञ्चालन गरिनेछ । पहिलो चरण ‘एआई क्यानभास’ अन्तर्गत एआई फाउन्डेसन, बुटक्याम्प, वेबिनारलगायतका आधारभूत सिकाइ कार्यक्रम समावेश गरिएको छ । दोस्रो चरण अन्तर्गत ‘एआई कन्क्लेभ’ जनवरी १२, १३ र १४ मा केयू केन्द्रीय कार्यालयमा सञ्चालन भइरहेको छ ।

सम्मेलनअन्तर्गत सोमबार ‘नेसनल लेभल एआई समिट’ आयोजना गरिएको छ । मङ्गलबार प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई–गेम्स, टेक–टक्स तथा एक्सपो सञ्चालन हुनेछन् । त्यस्तै, बुधबार ‘एआई फर सोसाइटी’ शीर्षकमा प्यानल डिस्कसन, ई–गेम्सको फिनाले, एआईसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा एआई नीतिमा छलफललगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

तीनदिने ‘एआई कन्क्लेभ–२०२६’ मा करिब पाँच हजार अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अनुमान छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation