सेयर बजार सकारात्मक, उत्पादन तथा प्रशोधनमा ३ प्रतिशत उछाल

२१ पुस, काठमाडौँ ।

सोमबार सेयर बजारका सबै सूचक हरियो देखिएका छन् । नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९ अंकमा कायम भएको छ । बजार खुलेपछि दिनभर हरियो रह्यो ।

आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । प्रतिनिधिसभा निर्वाचनको वातावरण नजिकिँदै गर्दा बजारको माहोल सकारात्मक देखिएको छ ।

आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी आकर्षणको केन्द्रमा रह्यो र ३.०५ प्रतिशतले वृद्धि भयो । अन्य समूहका सूचकहरू पनि बढेका छन् । बैंकिङ ०.६५ प्रतिशत, विकास बैंक २.७० प्रतिशत, फाइनान्स ०.८३ प्रतिशत, होटल तथा पर्यटन २.५३ प्रतिशत, हाइड्रोपावर १.४४ प्रतिशत, लगानी १.२३ प्रतिशत, जीवन बीमा ०.४९ प्रतिशत, माइक्रोफाइनान्स ०.५३ प्रतिशत, निर्जीवन बीमा ०.४२ प्रतिशत, अन्य ०.७८ प्रतिशत र व्यापार ०.२२ प्रतिशत बढेका छन् ।

आज ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरू हुन् सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर । त्यस्तै, दरामखोला हाइड्रोपावरको मूल्य ९.५४, हिमस्टार ऊर्जाको ८.५४, नारायणी डेभलपमेन्ट बैंकको ८.५३ र ट्रेड टावरको ८.४८ प्रतिशतले बढेको छ ।

सप्तकोशी विकास बैंकको मूल्य २.४९ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मूल्य २.२३ प्रतिशतले घटेको छ । आज धेरै कारोबार भएका पाँच कम्पनी हुन् शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार, एसवाई प्यानल, श्रीनगर एग्रिटेक र सागर डिस्टिलरी ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation