
१७ पुस, काठमाडौं ।
साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ बिन्दुमा झरेर रोकिएको छ । यो ०.४८ प्रतिशतको गिरावट हो ।
‘अन्य’ उपसूचक बाहेक बिहीबार सबै उपसूचकहरू ओरालो लागेका छन् । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशत गुमाएका छन् ।
आज कुल ३ सय ३६ धितोपत्रको ६४ हजार ४ सय ७ कारोबारबाट १ करोड १ लाख ५३ हजार २ सय २६ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो कारोबार दिन बुधबारको तुलनामा कम हो । बुधबार दोहोरो अंकले बढेको बजार आज घटेको हो ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ४८१.१० रुपैयाँ पुगेको छ । यसबाहेक एसवाई प्यानल नेपाल लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी, बुङ्गल हाइड्रो लिमिटेड र कालिका पावर कम्पनीका धितोपत्रको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ ।
यता, आज ग्लोबल आईएमई समुन्नत योजना–२ का लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । साथै, बोटलर्स नेपाल, सयपत्री हाइड्रो, लक्ष्मी लघुवित्त वित्तीय संस्था लगायतका धितोपत्रको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ ।
आज एसवाई प्यानल नेपाल लिमिटेड सर्वाधिक कारोबार हुने धितोपत्रका रूपमा रहेको छ ।










