
काठमाडौँ ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु ल्होसार पर्व गुरुङ समुदायले परम्परागत रूपमा भव्य रूपमा मनाउँदै आएका छन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको विश्वास गरिन्छ । विशेषगरी गुरुङ समुदायको बसोबास रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस महिनामा तमु ल्होसार मनाइने गरिएको हो ।
यसपछि तामाङ र शेर्पा समुदायको बसोबास रहेको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुन महिनामा ल्होसार मनाइने विश्वास छ ।
यस अवसरमा काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा गुरुङ समुदायका मानिसहरू परम्परागत तथा सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुनेछन् ।
कार्यक्रममा गुरुङ समुदायका परिकारहरूको प्रदर्शनीसमेत गरिनेछ । यस अवसरमा गत आइतवारदेखि काठमाडौँको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । तमु ल्होसार पर्वका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।










