अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्दै

काठमाडौँ ।

 वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज फेरि १२ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत निक्षेप खिच्न लागेको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट निक्षेप सङ्कलन गर्न लागेको हो । हाल कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा ब्याजदर सन्तुलनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेको ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता दिँदै, आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप सङ्कलनका लागि आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुनेछ । ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण गरिनेछ । आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुस २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमभित्र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी तोकिएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation