
रुकुमको सिस्ने गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रका अगुवा कृषकहरूका लागि कृषि सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । निरन्तर कृषि क्षेत्रमा सक्रिय कृषकहरूलाई व्यावसायिक रूपमा अघि बढाउने तथा कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण कसरी गर्ने भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा किसानका सम्भावित उत्पादन क्षेत्रको अध्ययन गर्दै कुन वडामा कुन प्रकारको उत्पादन उपयुक्त हुन्छ भन्ने पहिचान गरी त्यसको प्रभावकारी बजारीकरणका विषयमा छलफल गरिएको थियो । त्यस्तै कृषकहरूले आफ्ना विभिन्न समस्याहरु समाधानको लागि सुझावहरु पेश गरेका थिए । गाउपालिका अध्यक्ष कृष्ण रेग्मीले कृषकहरुको मागलाई प्राथामिकतामा राखी आगामी दिनमा गाउपालिका कार्यक्रम तय गर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय रुकुम पूर्वका प्रमुख, वडा अध्यक्षहरु तथा ८ वटै वडाका कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण सिस्ने गाउँपालिकाको कृषि शाखा अधिकृत क्षितिज खनालले गर्नुभएको थियो ।











