उधौली पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा

काठमाडौँ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा तथा दान गरेर धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गर्ने चलन रहिआएको छ । नयाँ भित्रिएको धान कुटेर चामल बनाइन्छ र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी तथा मालपुवा तयार पारेर चढाउने परम्परा रहेको छ ।

यसअघि नवअन्नप्राशन नगरेकाहरूले आजै नवअन्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिएका छन् ।

यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा पनि मेला लाग्ने गर्छ ।

आज योःमरि पूर्णिमा (योमरी पुन्हि)
नयाँ धान भित्र्याएको खुशीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । योःमरि पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ । नेवार समुदायको प्रमुख चाडका रूपमा मनाइने यस पर्वलाई खाद्यपदार्थको रसिलो उत्सवको रूपमा लिइन्छ ।

योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलको मिश्रणबाट तयार पारिन्छ । आज बिहान सबेरैदेखि घरका महिलाहरू नुहाइधुवाइ गरी घर–आँगन सरसफाइ गर्दा गर्दै योमरी पकाउन व्यस्त हुने परम्परा छ ।

यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनको रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । दूधबाट बनेको खुवा, चाकु तथा तिल मिलाएर तयार पारिएको मिश्रणलाई चामलको पीठोमा भरिएको डल्लो स्वरूपमा योमरी बनाइन्छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा–आराधना गरेर योमरी पूर्णिमा मनाउने गर्छन् । चेलीबेटी गर्भवती हुँदा गर्भमै शिशुको पूर्ण स्वास्थ्यको कामना स्वरूप माइती पक्षबाट तिल र चाकु भरिएको योःमरि सगुनका रूपमा पठाउने चलन पनि रहिआएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation