
कपिलवस्तु, १४ मंसिर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा यस वर्ष पनि बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । विजयनगर आधारभूत अस्पताल बद्धौरमा मंसिर २२ गते सोमबार रक्तदान कार्यक्रम हुन लागेकाे हो ।
राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटी र नेकपा (एमाले) विजयनगर गाउँ कमिटीको संयुक्त आयोजनामा तथा विजयनगर गाउँपालिकाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले रक्त अभावका कारण उपचार नै रोकिनुपर्ने अवस्था हटाउन स्थानीय तहमै नियमित रक्तदान कार्यक्रम आवश्यक रहेको बताए । उनले यस अभियानलाई गाउँपालिकाले निरन्तर समर्थन गर्दै आएको पनि बताए ।
यस्तै, गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले रक्तदान जीवनदानको मर्मलाई आत्मसात गर्दै रक्तदान मानव सेवाको सबैभन्दा पवित्र कार्य भएको बताए । विजयनगरका युवाले सामूहिक रूपमा गरेको यो पहल प्रशंसनीय रहेको उनको भनाइ थियो ।
राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीका अध्यक्ष तैलेश्वर खटिकले युवाहरू समाज सेवामा सक्रिय हुनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यस पटक पनि बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागेको बताए । उनले सबैलाई सक्रिय सहभागिताका लागि आग्रह समेत गरे ।
मंसिर २२ गते आयोजना हुने यस कार्यक्रममार्फत रक्त व्यवस्थापन सुदृढ हुने तथा समाज सेवामा युवाको सहभागिता अझ बढ्ने अपेक्षा राखिएको नेकपा (एमाले) विजयनगर गाउँ कमिटीका सचिव गोकर्ण प्रसाद सापकोटाले बताए ।










