
कपिलवस्तु, १५ मंसिर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा पोषणमैत्री स्थानीय शासनमा शिक्षा क्षेत्रको भूमिका सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा र किड्स नेपालरप्लान इन्टरनेशनलको सहयोगमा आइतबार खडैचास्थित गाउँपालिका सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको किड्स नेपालका कार्यक्रम संयोजक असगर हुसेन धुनियाले जानकारी दिनुभयो ।
उनका अनुसार विद्यालय तहमा पोषणमैत्री योजना निर्माणसँगै शिक्षा क्षेत्रलाई पोषण संवर्द्धनमा सक्रिय बनाउन कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले पोषणमैत्री स्थानीय शासन प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यालय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूलाई योजनानुसार अघि बढ्न आग्रह गर्नुभयो ।
अभिमुखीकरणमा पाँच वटा विद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यार्थी गरी २५ जनाको सहभागिता रहेको थियो । साथै वडा नं। ६ का अध्यक्ष प्रेमबहादुर कलवार, वडा नं. ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमान, वडा नं. ३ का वडा सदस्य मोहम्मद सई लगायत जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
कार्यक्रमलाई विजयनगर शिक्षा शाखा प्रमुख हरिहर बेल्बासे र स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले सहजीकरण गरेका थिए ।
सम्बन्धित विद्यालयहरूले तयार पारिएका योजनाहरू व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।










