
१ मंसिर, काठमाडौं ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएको समूहको भाषा परीक्षा आजदेखि सुरु भएको छ । पहिलो चरणमा उत्पादन क्षेत्रका लागि आवेदन दिने परीक्षार्थीहरूको परीक्षा लिइँदै छ । उत्पादन क्षेत्रमा मात्र ६७ हजार जनाले आवेदन दिएका छन् ।
सन् २०२५ मा ईपीएसमार्फत कोरिया जान कुल एक लाख दुई हजार ५१५ जनाले आवेदन दिएका छन् । तीमध्ये उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखी पहिलो चरणको भाषा परीक्षा सुरु गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएका ३५ हजार जनाको परीक्षा लिइनेछ ।
यसअघि रोस्टरमा परेका युवाहरूले आफूहरूलाई पहिले कोरिया पठाउनुपर्ने माग राख्दै परीक्षा नगर्न आग्रह गर्दै आएका थिए । त्यहीबीच उत्पादनमूलक क्षेत्रमा आवेदन दिने ६७ हजार युवाको परीक्षा भने आजबाट सुरु गरिएको हो ।
भाषा परीक्षा दुई महिनाभित्र सम्पन्न गर्ने तयारी वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ ।
दक्षिण कोरियाले १७ ईपीएस सदस्य राष्ट्रहरूमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक लैजाने गरेको छ ।












