
काठमाडौं, २८ कात्तिक ।
नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.४५ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा कोषको नाफा ३० करोड ९ लाख रुपैयाँ थियो ।
ब्याज आम्दानी उल्लेख्य घट्दा पनि सेवा शुल्क तथा कमिसन आम्दानी बढेकाले कोषको नाफामा सामान्य सुधार देखिएको हो ।
चालु आवको पहिलो त्रैमासमा ब्याज आम्दानी ९ करोड ७२ लाख रुपैयाँमा सीमित रह्यो । गत आवको यही अवधिमा ब्याज आम्दानी ११ करोड ९८ लाख रुपैयाँ थियो ।
सेवा शुल्क तथा कमिसन आम्दानी भने वृद्धि भएर ४२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो आम्दानी ३९ करोड १६ लाख रुपैयाँ थियो ।
कोषको लगानीमध्ये सबैभन्दा धेरै रकम मुद्दती निक्षेपमा केन्द्रित छ । असोज मसान्तसम्म कोषले १ खर्ब ६२ अर्ब रुपैयाँ बैंकका मुद्दती निक्षेपमा लगानी गरेको छ । बैंक ब्याजदर घट्दै गएसँगै कोषको ब्याज आम्दानीमा कमी आएको हो ।
नाफा वृद्धि भए पनि कोषको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) भने सामान्य घटेको छ । अघिल्लो त्रैमासमा १९.८७ रुपैयाँ रहेको ईपीएस अहिले १९.४० रुपैयाँमा झरेको छ ।
बोनस सेयर वितरणसँगै सेयर पूँजी बढेपछि प्रतिसेयर आम्दानी खुम्चिएको हो । कोषको सेयर पूँजी पहिले ६ अर्ब ५ करोड रुपैयाँ रहेकोमा अहिले ६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १६९.०८ रुपैयाँ रहेको छ । बिहीबार बजार बन्द हुँदा कोषको सेयर मूल्य प्रतिकित्ता १ हजार ८२० रुपैयाँ थियो ।












