
काठमाडौँ ।
मधेश प्रदेश लोक सेवा आयोग, जनकपुरधामले प्रदेश निजामती सेवाको अधिकृत आठौं र सातौं तहको विज्ञापन प्रकाशन कार्य स्थगित गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यतालिकाअनुसार कार्तिक महिनाको अन्तिम बिहीबार अर्थात् मिति २०७८।०७।२७ गते विज्ञापन प्रकाशित गर्ने तयारी गरेको थियो ।
तर, प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा १० को उपदफा (३) बमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सातौं तहदेखि माथिका रिक्त पदपूर्तिका कार्यतालिका नबनाई पठाएको कारण विज्ञापन स्थगित गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार रिक्त पदपूर्तिका लागि माग प्राप्त नभएसम्म उक्त तहका विज्ञापन प्रकाशन कार्य स्थगित गरिएको हो । आयोगले २०७८।०७।२६ गतेको निर्णयअनुसार उक्त सूचना सार्वजनिक गरेको छ ।












