प्युठान नगरपालिकामा हरेक बिहान राष्ट्रिय गानपछि सेवा सुरु

प्युठान, २५ कात्तिक ।

प्युठान नगरपालिकाले प्रत्येक दिन राष्ट्रिय गानबाट सेवा प्रारम्भ गर्ने गरेको छ ।

यो अभ्यास विगत दुई वर्षदेखि प्रत्येक कार्यदिवसमा नियमित रूपमा हुँदै आएको छ । बिहान ठीक १० बजे राष्ट्रिय गान बजाएर कार्य प्रारम्भ गर्ने प्रथालाई नगरपालिकाले निरन्तरता दिँदै आएको छ ।

नगरपालिकाका सूचना अधिकारी आशिष पौडेलका अनुसार विगत दुई वर्षदेखि हरेक दिन बिहान १० बजे नियमित रूपमा राष्ट्रिय गानबाट कार्य प्रारम्भ हुने गरेको छ ।

‘झण्डामुनि गोलबद्ध हुने कर्मचारी तथा जनप्रतिनिधिहरूले राष्ट्रिय गानमार्फत् राष्ट्रप्रति सम्मान व्यक्त गर्दै आफ्नो दैनिक कर्तव्यप्रति प्रतिबद्धता पुनः स्मरण गर्छन् । यही प्रक्रियाबाट नगरपालिकाको औपचारिक सेवा–प्रवाह सुरु हुन्छ,’ पौडेलले भने ।

नगर प्रमुख विष्णुबहादुर योगीले राष्ट्रप्रतिको सम्मान, कर्तव्यप्रतिको स्मरण र अनुशासनप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न राष्ट्रिय गानबाट कार्यालयको दैनिकी सुरूवात गर्ने गरिएको बताए ।

‘स्थानीय शासन नागरिकसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ । त्यसैले सेवा प्रवाह सुरु हुनु अघि हामी राष्ट्रप्रतिको सम्मान, कर्तव्यप्रतिको स्मरण र अनुशासनप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न चाहन्छौं,’ उनले भने, ‘दैनिक राष्ट्रिय गान हाम्रो संस्थागत पहिचान र कार्यसंस्कृतिको आधार बन्दै गएको छ ।’

नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माका अनुसार यो अभ्यासले पालिकाभित्रको दैनिक क्रियाकलापमा अनुशासन, कार्यप्रेरणा र सेवा–संस्कृतिलाई सुदृढ बनाउँदै आएको छ ।

‘देशप्रतिको सम्मानसहित दिन सुरु गर्ने अभ्यासले समयपालन, जिम्मेवारीबोध र संस्थागत व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको छ,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण खनालले कर्मचारीमा विकसित भएको आत्मअनुशासन, सक्रियता र सेवाभाव कार्यालयको प्रमुख उपलब्धि बनेको बताए ।

‘दैनिक राष्ट्रिय गानले कार्यालयको वातावरणमा स्वाभाविक रूपमा आवश्यक अनुशासन स्थापित गरेको छ,’ उनले भने ।

नगरपालिकाका अनुसार सेवाग्राहीहरूले पनि यसको प्रत्यक्ष प्रभाव महसुस गर्न थालेका छन् । समयपालन, सेवामा सहजता र कर्मचारीको कार्यशैलीमा सुधार ल्याउने अपेक्षा नगरपालिकाले गरेको नगर प्रमुख योगीको भनाइ छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation