
२४ कात्तिक, काठमाडौं ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् ।
उनी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
प्रहरी नियमावलीमा उल्लेखित ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन् ।
त्यसअघि नै सरकारले नयाँ महानिरीक्षकको नियुक्ति गरेको हो ।
२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो ।
उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागका प्रमुख थिए ।
डीआईजी हुँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए । एसएसपीको जिम्मेवारीमा रहँदा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हालेका थिए, जसबेला भुटानी शरणार्थी प्रकरणको मुद्दा चर्चामा आएको थियो |
चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्की इमानदार प्रहरी अधिकृतका रूपमा परिचित छन् ।
कुनै ठूलो आर्थिक विवादमा नजोडिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्मको दीर्घ अनुभव छ ।
विदेशमा विभिन्न तालिम लिएका उनी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहिसकेका छन् ।












