अर्थ मन्त्रालयले आन्तरिक राजस्व परिचालन रणनीति २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१।८२ देखि आर्थिक वर्ष २०८५।८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी गरेकाे हो । अर्थ मन्त्रालयले राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि चालु अाविधक योजनासँग तालमेल गराउने उद्देश्यले तयार पारिएको अर्थ मन्त्रालयले उल्येख गरेकाे छ । यो रणनीतिले अर्थ–सामाजिक विकासका लागि आवश्यक राजस्व परिचालन र निजी क्षेत्र तथा करदाताको आकांक्षीबीच सन्तुलन कायम गर्ने विश्वास गरिएकाे छ । आन्तरिक राजस्व परिचालन रणनीतिले देशको कर नीति र प्रशासनमा सुधारका लागि स्पष्ट संरचनागत रूपरेखा प्रस्तुत गरेको जनाइएको छ। यो रणनीतिको मुख्य उद्देश्य आर्थिक दक्षता र समानतालाई प्रवर्द्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुका साथै कर र गैरकर राजस्वको स्थिर प्रवाह सुनिश्चित रहेको रणनीतिमा उल्लेख छ । सरकारको कोषमा स्थायित्व कायम राख्दै बजेट घाटालाई व्यवस्थापन गर्न पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ। सरकारी कोषलाई सुदृढ बनाउन आन्तरिक स्रोतबाट राजस्व परिचालन वृद्धि गर्नु, कर कानुन र सञ्चालन प्रणालीहरूसँग करदाताहरूको स्वेच्छिक परिपालना, कर र भन्सार प्रशासनको जोखिम व्यवस्थापन क्षमता सुदृढ गर्ने, कर र भन्सार प्रशासनमा स्वचालित बनाउनुलगायत रणनीतिका उद्देश्य छन्।